Section 41
पूँजी कायम राख्नु पर्ने
(१) बैंक वा वित्तीय संस्थाको न्यूनतम चुक्ता पूँजी राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिमको न्यूनतम चुक्ता पूँजी बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले निर्धारण गरेको समयभित्र पुरा गरी सक्नु पर्नेछ । (३) राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको बढीमा पन्ध्र प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गर्न सक्नेछ । (४) उपदफा (३) बमोजिम कुनै एक बैंक वा वित्तीय संस्थामा लगानी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले अर्काे बैंक वा वित्तीय संस्थामा लगानी गर्दा उक्त बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा कम हुने गरी मात्र लगानी गर्नु पर्नेछ । (५) विदेशी संयुक्त लगानीमा खुल्ने बैंक वा वित्तीय संस्था, “घ” वर्गका वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चुक्ता पूँजीमा लगानी गर्न सक्ने हद सम्बन्धी व्यवस्था राष्ट्र बैंकले तोके बमोजिम हुनेछ । (६) बैंक वा वित्तीय संस्था संस्थापना गर्न वा सो बैंक वा वित्तीय संस्थामा कुनै व्यक्ति वा संस्थाले लगानी गर्न सक्ने शेयर पूँजीको प्रतिशत राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।